कलैयामा निराशा: घाममा घण्टौं पर्खिएका समर्थकलाई नसम्बोधन गर्दै बालेन वीरगञ्जतर्फ प्रस्थान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, २८ माघ २०८२-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) को झलक हेर्न र भाषण सुन्न बाराको कलैयामा बिहानैदेखि समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो। तर, उनीहरू घण्टौं पर्खिए पनि बालेनले नरोकी अघि बढेपछि समर्थकहरू निराश बनेका छन्।

रौतहटबाट हुलाकी राजमार्ग हुँदै कलैया आउने कार्यक्रम रहेको खबर फैलिएपछि बिहान ११ बजेदेखि नै सर्वसाधारण, स्थानीय नेता तथा कार्यकर्ताहरू भरतचोक क्षेत्रमा भेला हुन थालेका थिए। चर्को घामका बाबजुद उनीहरू बालेनले चोकमा सवारी रोकेर सम्बोधन गर्ने वा कम्तीमा गाडीबाट ओर्लिएर अभिवादन गर्ने अपेक्षामा थिए।

अपराह्न करिब २ः४० बजे बालेनको सवारी लस्कर भरतचोक आइपुग्यो। तर सवारी नरोकी गुडिरहेको गाडीबाटै घण्टी बजाउँदै हात हल्लाएर उनी वीरगञ्जतर्फ लागे। सडक छेउमा उभिएका धेरै समर्थकले उनलाई स्पष्ट रूपमा देख्नसमेत पाएनन्।

‘बिहानदेखि कुरेर बस्यौं, तर उहाँ कहिले आउनुभयो र कहिले जानुभयो पत्तै भएन,’ एक स्थानीय समर्थकले गुनासो गरे।

स्थानीयवासीहरूले अन्य दलका नेताहरू जस्तै छोटो सम्बोधन भए पनि गर्ने अपेक्षा राखेका थिए। तर कार्यक्रमबिना नै सवारी अघि बढेपछि धेरैजना खिन्न हुँदै घर फर्किएका छन्।

कलैयामा नरोकी अघि बढ्नुको कारणबारे रास्वपाको तर्फबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

Leave a Comment