टिकटक विवादपछि मधेशमा संयमको आग्रह, मुख्यमन्त्री यादवद्वारा शान्ति र एकताको आह्वान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

जनकपुरधाम, २१ पुस।
मधेश प्रदेशमा देखिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवले शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै नागरिकलाई संयम अपनाउन आग्रह गरेका छन्।

धनुषामा टिकटकमार्फत सुरु भएको दुई समुदायबीचको विवादले उग्र रूप लिन थालेपछि मुख्यमन्त्री यादवले सार्वजनिक अपिल जारी गरेका हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै उनले मधेश सदियौंदेखि हिन्दु, मुस्लिमसहित सबै समुदायको साझा भूमि रहेको उल्लेख गरेका छन्।

मुख्यमन्त्री यादवले मधेशको पहिचान विविधतामा रहेको बताउँदै भने, “मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन।” पछिल्ला दिनमा फैलिएका अफवाह, उत्तेजक अभिव्यक्ति र तनावका घटनाले समाजलाई गहिरो पीडा दिएको उनको भनाइ छ।

हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै उनले धर्मका नाममा फैलाइने घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य रहेको बताए। “हिंसाको बाटोले व्यक्ति मात्र होइन, समाज र राज्यलाई समेत क्षति पुर्‍याउँछ,” उनले उल्लेख गरेका छन्।

प्रदेश सरकार नागरिकको सुरक्षा, सम्मान र समान अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाउँदै मुख्यमन्त्री यादवले शान्ति–सुरक्षाको अवस्था थप सुदृढ बनाइने जानकारी दिए। साथै, अफवाह फैलाउने वा घृणात्मक गतिविधिमा संलग्न जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएका छन्।

Leave a Comment