काठमाडौं, २९ माघ २०८२ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीले दैनिक छपाइ दर बढाएर काम तीव्र बनाएको छ भने बिहीबारदेखि मतपत्र जिल्ला–जिल्ला पठाउन सुरु गरिने जनाएको छ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख मतपत्र छाप्नुपर्नेमा बुधबारसम्म १ करोड ५३ लाख थान छपाइ सम्पन्न भइसकेको छ। सुरुमा दैनिक १३ लाख छापिँदै आएको मतपत्र अहिले १५ लाखसम्म पुर्याइएको छ।
“करिब ५० लाख मतपत्र छपाइ बाँकी छ। शुक्रबार साँझसम्म सबै छपाइ सक्ने लक्ष्य छ, ढिलोमा शनिबारसम्म काम पूरा हुन्छ,” पौडेलले बताए।
उम्मेदवार संख्या फरक–फरक हुँदा मतपत्रको आकार पनि फरक पर्ने भएकाले केही जिल्लामा छपाइमा समय लागेको केन्द्रले जनाएको छ। धेरै उम्मेदवार भएका जिल्लामा ठूलो आकारको मतपत्र र थोरै उम्मेदवार भएका ठाउँमा सानो आकारको मतपत्र छाप्नुपर्ने व्यवस्था छ।
यसअघि नै १० लाख नमूना मतपत्र निर्वाचन आयोगमार्फत विभिन्न स्थानमा पठाइसकिएको छ। समानुपातिकतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ र प्याकिङ सम्पन्न भएपछि प्रत्यक्षतर्फको छपाइ अघि बढाइएको थियो।
केन्द्रका अनुसार बिहीबारदेखि दुर्गम जिल्लामा मतपत्र ढुवानी सुरु गरिनेछ। फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्याइसक्ने तयारी गरिएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा मतपत्र छपाइ र वितरण कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको केन्द्रले जनाएको छ।

