२ फागुन २०८२, रोल्पा। रोल्पामा निर्वाचन सुरक्षाका लागि खटिएका अस्थायी प्रहरी (निर्वाचन प्रहरी)माथि नेपाल प्रहरीका कर्मचारीले कुटपिट गरेको घटना सार्वजनिक भएपछि जिल्लामा विवाद चुलिएको छ।
माघ २६ गते बेलुका रोल्पा नगरपालिका–४ लिबाङस्थित शहीद प्रतिष्ठान भवनमा बसोबासको व्यवस्था गरिएको स्थानमा १०४ जना निर्वाचन प्रहरीमाथि कुटपिट भएको आरोप लागेको हो। कुटपिटमा परेकामध्ये १६ जनालाई उपचारका लागि अस्पताल पुर्याइएको स्रोतले जनाएको छ। उनीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्।
अस्पताल स्रोतका अनुसार अधिकांश घाइतेको ढाड र तिघ्रामा नीलडाम देखिएको थियो। घटना तत्कालै गुपचुप राखिएको भए पनि कारबाही नभएको भन्दै असन्तुष्ट निर्वाचन प्रहरीले नै विषय बाहिर ल्याएका हुन्।
‘अपशब्दपछि कडाइ’ : प्रहरी
प्रत्यक्षदर्शीका अनुसार खाना खाएर फर्कने क्रममा केही निर्वाचन प्रहरीको व्यवहारप्रति अपमानित महसुस गरेको भन्दै दुई जना प्रहरी जवानले उनीहरूलाई पुनः मेसतर्फ फर्काएका थिए। त्यसपछि ‘हाँस्ने को–को हो?’ भन्दै लाठी प्रहार गरिएको बताइएको छ।
घटनापछि केही निर्वाचन प्रहरीले विरोध जनाएका थिए। त्यसबेला जिल्ला प्रहरीका अधिकारीले संलग्न प्रहरीमाथि कारबाही गर्ने आश्वासन दिएका थिए।
डीएसपीको स्वीकारोक्ति
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ले घटना भएको स्वीकार गरेका छन्।
उनले भने, “खाना खाएर फर्कने क्रममा बाटोमा अपशब्द प्रयोग भएपछि निर्वाचन प्रहरीलाई अनुशासनमा बस्नुस् भनेर प्रशिक्षकहरूले अलि कडाइ गरेका हुन्। एक–दुई लाठी प्रयोग हुँदा केही गुनासो आएका हुन सक्छन्।”
उनका अनुसार कुटपिटमा संलग्न प्रहरी जवानलाई विभागीय कारबाही गरिसकिएको छ।
प्रशासनको प्रतिक्रिया
प्रमुख जिल्ला अधिकारी ले पनि घटना भएको स्वीकार गर्दै निर्वाचन सुरक्षामा खटिने कर्मचारीले संस्थागत अनुशासन पालना गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमा भने उक्त घटनालाई मानवअधिकार उल्लंघनका रूपमा आलोचना भइरहेको छ। घटनाबारे थप छानबिन र स्पष्ट विवरण सार्वजनिक गर्न माग बढिरहेको छ।

