४ चैत २०८२, काठमाडौं-काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन पर्ने यो पर्वका अवसरमा सरकारले उपत्यकाभर सार्वजनिक बिदा दिएको छ।
घोडे जात्राको मुख्य कार्यक्रम टुँडिखेलमा आयोजना हुने गर्दछ। यस अवसरमा नेपाली सेनाले घोडा दौड, अश्वकला प्रदर्शन, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकलाका विविध प्रस्तुति देखाउने परम्परा रहेको छ।
यस पर्वसँग जोडिएको जनविश्वास अनुसार ‘गुरुमापा’ नामक राक्षसले सहरका बालबालिकालाई दुःख दिने गर्थ्यो। स्थानीयवासीले उक्त राक्षसलाई मारे पनि यसको आत्मा फेरि सक्रिय हुनसक्ने डरले हरेक वर्ष घोडा दौडाएर त्यसलाई दबाउने परम्परा सुरु भएको मानिन्छ।
यही विश्वासका आधारमा आज राति गुरुमापाको आत्मालाई शान्त पार्न खानेकुरा चढाउने चलन पनि रहेको छ। यसो गर्दा वर्षभर बालबालिका सुरक्षित रहने विश्वास गरिन्छ।
घोडे जात्रा काठमाडौं उपत्यकाको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ।

