कलैया, फागुन ४ — नेपाली कांग्रेस जिल्ला निर्वाचन प्रचार–प्रसार समिति, बाराको बैठक संयोजक अमिरी लाल पालको सभापतित्वमा सम्पन्न भएको छ। बैठकमा नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादव प्रमुख अतिथि रहेका थिए।
बैठकले संयोजक पालद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। निर्णयअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाराका चारवटै क्षेत्रमा पार्टीका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन तथा समानुपातिकतर्फ मत वृद्धि गर्न जिल्लावासी, पार्टीका नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक संघ–संस्थालाई सक्रिय रूपमा लाग्न अपिल गरिएको छ।
यसैगरी फागुन ६ गते जनकपुरमा आयोजना हुने पार्टीको विशाल जनसभालाई सफल बनाउन प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट कम्तीमा एक–एक हजार कार्यकर्ता सहभागी गराउने निर्णय भएको छ। बैठकले जिल्ला तथा मातहतका सबै पार्टी संगठन र शुभेच्छुक संस्थालाई व्यापक सहभागिताका लागि परिचालन गर्ने जनाएको छ।
बैठकले निर्वाचन प्रचार–प्रसारलाई प्रभावकारी बनाउन बाराका चारै प्रतिनिधिसभा क्षेत्रमा निर्वाचन उपसमिति गठन गरेको छ। जसअनुसार क्षेत्र नम्बर १ मा शोभी मण्डल, क्षेत्र नम्बर २ मा अशोक चौरसिया (ललन), क्षेत्र नम्बर ३ मा जगबहादुर चौरसिया र क्षेत्र नम्बर ४ मा राधादेवी साह संयोजक तोकिएका छन्।
प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस बारा जिल्ला सचिव अम्बिका प्रसाद यादवले हस्ताक्षर गरेका छन्।






