२ असार, बारा: बाराको कलैयाका बुद्धिजीवी लक्ष्मण पौडेलको निधन भएको छ ।
कलैयाको बरेवामा जन्मेका बुद्धिविवी तथा शिक्षाविद् पौडेलको ८४ वर्षको उमेरमा अमेरीका स्थित क्यालिफोर्नियाको कन्कर्डमा आज बिहान नेपाली समय अनुसार ५ बजे निधन भएको हो ।
उनी केहि वर्षदेखि मुटुरोग तथा निमोनियाबाट ग्रसित थिए ।
बनारस हिन्दु विश्वविद्यालयबाट बि.ए. गरेका पौडेल विद्यार्थी जीवनमा अखिल बनारस नेपाली छात्र संघका सोशल सेक्रेटरी र छात्रवाणी पत्रिकाका लागी प्रधान सम्पादकको भूमिका समेत निर्वाह गरेका थिए ।
श्री ३ चन्द्र स्कुल, कलैयामा शिक्षण पेशा गर्दै पछि शिक्षा ईन्स्पेक्टर र जिल्ला शिक्षा अधिकारीको रुपमा उनले केहि वर्ष सेवा गरेका थिए ।
कलैया रामराजा क्याम्पस स्थापनामा उनको अहम भूमिका रहेको थियो । उनी सो क्याम्पसका पूर्व संचालक समिति सदस्य हुन् ।
बहुदल व्यवस्था पछि २०४९ साल ताका उनी वीरगञ्ज चिनी कारखानाका संचालक पनि भएका थिए ।
बिद्याथी जीवनमा डा. तारानाथ शर्मा र मनमोहन अधिकारीबाट प्रशिक्षित पौडेल बामपन्थी बिचारधारा राख्दथे ।
बारा जिल्ला एमाले जिल्ला कमिटिका सदस्य र केन्द्रिय प्रशिक्षण विभागमा समेत उनी आबद्ध थिए ।
उनको हजुरबुवा स्व.गोपीनाथ उपाध्याय तात्कालिन बरेवा देवीगञ्ज दरबारका पुरेत थिए भने बुवा स्व. फणिनाथ उपाध्याय कलैयाका एक सभ्रान्त परिवारमा गनिन्थे । स्व. लक्ष्मण पौडेलको श्रीमती, दुई छोरी र एक छोरा छन् ।
उनका छोरा डा. राजेशकुमार पौडेल वरिष्ठ फेमीली मेडिसीन चिकित्सकको रुपमा हाल कतारको एक अस्पतालमा कार्यरत छन् ।