६ फागुन, जनकपुरधाम । गगन थापाले भदौ २३–२४ का घटनाजस्ता अवस्था दोहोरिन नदिने प्रतिज्ञा गर्दै अब कुनै पनि युवक राज्यको गोलीको सिकार नहुने बताएका छन्।
नेपाली कांग्रेसले जनकपुरधाममा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले नकाब लगाएर सिंहदरबारमा अराजक गतिविधि गर्ने प्रवृत्तिलाई समेत अन्त्य गर्ने प्रतिबद्धता जनाए।
“अब प्रश्न गर्दा कुनै युवक भदौ २३ जस्तो राज्यको गोलीबाट मारिनु पर्दैन, यो हाम्रो प्रतिज्ञा हो,” थापाले भने, “अब कसैले नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन—हामी यस्तो नेपाल बनाउन चाहन्छौं।”
भदौ २३–२४ मा सडकमा उत्रिएका युवाको भावना बुझेर कांग्रेसले आफ्नो राजनीतिक शैली परिवर्तन गर्ने उनले बताए। “ती हाम्रै भाइभतिजा हुन्, जेनजी भनेको कतैबाट आएको होइन,” उनले भने, “उनीहरूले हामीलाई अस्वीकार गरेको होइन, हाम्रो शैली बदल भन्न खोजेका हुन्।”
थापाका अनुसार युवाको असन्तुष्टि र अपेक्षा सम्बोधन गर्दै कांग्रेस नयाँ ढंगले राजनीति अघि बढाउने प्रतिबद्धताका साथ अघि बढेको छ।

