काठमाडौं, २७ फागुन २०८२ — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनपछि देशभर भएको मतगणनाको पछिल्लो परिणाम अनुसार अधिकांश मत गनिसकिएको छ र अब केही स्थानको गणना मात्र बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
हालसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि अत्यधिक मतसहित पहिलो स्थानमा रहेको छ। रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा एमाले ले १४ लाख ४८ हजार ३१८ मत ल्याएको छ।
त्यसैगरी चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख ३ हजार ६२७ मत पाएको छ।
अन्य दलहरूको अवस्था यस्तो छः
श्रम संस्कृति पार्टी – ३ लाख ७८ हजार ५८७ मत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – ३ लाख २९ हजार ४५७ मत (थ्रेसहोल्ड पार)
हालसम्म समानुपातिकतर्फ १ करोड ७ लाख ३० हजार ५५१ मत गणना भइसकेको छ।
यस पटकको निर्वाचनमा विगतमा राष्ट्रिय दल बनेका मधेश केन्द्रित दलहरूको मत भने उल्लेखनीय रूपमा घटेको देखिएको छ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) – १ लाख ७४ हजार ३०६ मत
राष्ट्रिय परिवर्तन पार्टी – १ लाख ७१ हजार ४९७ मत
जनमत पार्टी – ७८ हजार ९४९ मत
यसअघि प्रत्यक्षतर्फको अन्तिम परिणाम भने सोमबार नै सार्वजनिक भइसकेको थियो।

