काठमाडौं, फागुन ६ — आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देशमा छद्मभेषी राजनीतिक संस्कृतिको वर्चस्व बढ्दै गएको आरोप लगाएका छन्। रौतहट–३ मा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भाषण र व्यवहारबीच ठूलो अन्तर देखिएका कारण मुलुक संकटमा परेको बताएका हुन्।
“देश अहिले संकटबाट गुज्रिरहेको छ, यो कुरा सबैले ठिकसँग बुझ्नुपर्छ,” उनले भने, “आजको अवस्था छद्मभेषी छ — जे सुनिरहेका छौँ त्यो व्यवहारमा छैन, र जे देखिरहेका छौँ त्यो भित्र छैन।”
साहका अनुसार अहिलेका कतिपय नेता सार्वजनिक रूपमा एक कुरा बोल्ने तर व्यवहारमा अर्कै गर्ने प्रवृत्तिमा लागेका छन्। “जो देश बेचिरहेका दलाल छन्, उनीहरू नै राष्ट्रवादको कुरा गरिरहेका छन्,” उनले आरोप लगाए।
उनले लोकतन्त्र, विकास, सुशासन र न्यायका नारामाथि पनि प्रश्न उठाउँदै व्यवहारगत ईमानदारीको अभाव भएको टिप्पणी गरे। “जो मान्छेलाई मान्छे नै गन्दैन, उही लोकतन्त्रको कुरा गरिरहेको छ; जसले जिन्दगीमा केही गरेको छैन, उही विकासको कुरा गरिरहेको छ,” उनले भने।
अध्यक्ष साहले पुरानो र असफल सोचलाई नै नयाँ भनेर प्रस्तुत गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै भ्रष्टाचारमा मुछिएका व्यक्ति नै सुशासनको नारा दिने तथा अत्याचारमा संलग्नहरू नै न्यायको कुरा गर्ने विरोधाभासपूर्ण अवस्था देखिएको बताए।
उनले मतदातालाई वास्तविकता चिन्न आग्रह गर्दै भाषणभन्दा व्यवहार हेरेर निर्णय गर्न आह्वान गरे।






