“युवाको चाहना स्वच्छ र सफा कलैया” नारासहित बजार क्षेत्रका विभिन्न स्थानमा डस्टबिन राखियो
कलैया, फागुन ७ — प्रजातन्त्र दिवसको अवसर पारेर जेन्जी युथ बारा नगर समितिले “युवाको चाहना स्वच्छ र सफा कलैया” भन्ने नाराका साथ सरसफाइ तथा जनचेतनामूलक अभियान सञ्चालन गरेको छ।
अभियान अन्तर्गत कलैया बजार, बैंक रोड, भरत चौक, दरबार चौक, अस्पताल क्षेत्र तथा गुप्ता पेट्रोल पम्प आसपासका सार्वजनिक स्थानहरूमा डस्टबिन राखिएको नगर संयोजक सौरभ पाण्डेयले जानकारी दिए।
सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति नियन्त्रण गर्दै सहरलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले अभियान सुरु गरिएको समितिले जनाएको छ।
यसैबीच संयोजक पाण्डेयले सम्पूर्ण कलैयावासीलाई सार्वजनिक स्थानमा फोहोर नफाल्न र अनिवार्य रूपमा डस्टबिनमै फोहोर राख्न अनुरोध गरेका छन्। “हामी सबैले आ–आफ्नो स्थान सफा राखे मात्र कलैया स्वच्छ र सुन्दर बन्न सक्छ,” उनले भने।
समितिले आगामी दिनमा पनि सरसफाइ तथा जनचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।







