कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउन देशका ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ।

शनिबार सानेपामा आयोजित अन्तरसंवाद कार्यक्रममा प्रतिनिधिहरूलाई जिम्मेवारीबारे जानकारी गराइएको थियो। कार्यक्रममा महामन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर जिल्लामा बसेर सदस्यता व्यवस्थापनको काम गर्न निर्देशन दिएका छन्।

उनका अनुसार प्रतिनिधिहरूले नयाँ सदस्यता वितरण गर्ने, पुरानो सदस्यता अद्यावधिक गर्ने, विधानअनुसार सदस्यता प्रक्रिया लागू गर्ने र संगठन सुदृढीकरणमा भूमिका खेल्नेछन्।

कार्यतालिकाअनुसार वैशाख १ गतेदेखि मसान्तसम्म वडास्तरमा सदस्यता वितरण र अद्यावधिक हुनेछ। १५ जेठभित्र वडाबाट सदस्यता प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नुपर्नेछ। त्यसपछि २५ जेठभित्र जिल्ला र क्षेत्रबाट केन्द्रमा विवरण पठाइनेछ। केन्द्रले १५ असारसम्म अन्तिम छानबिन गर्नेछ र असार मसान्तसम्म अद्यावधिक नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ।

यसअघि केन्द्रीय कार्यसमितिको बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। सोही अनुसार चैत २१ देखि मसान्तसम्म सदस्यता फारम वडा तहसम्म पठाउने र १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने तयारी गरिएकोछ।

 

Leave a Comment