११ प्राथमिकता कार्यसूची कार्यान्वयन गर्ने घोषणा, पुस्तान्तरण बहसलाई ‘भ्रम’को संज्ञा
काठमाडौं, फागुन ७ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि गठन हुने एमाले नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै स्पष्ट समयसीमा तोकेर ११ वटा प्राथमिकताका कार्यक्रम कार्यान्वयन सुरु गरिने बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय लक्ष्य हासिल गर्न सुशासन, विकास र समृद्धिका २५ नीतिगत स्तम्भ तय गरिएको उल्लेख गरे। तीमध्ये तत्काल प्रभाव पार्ने ११ विषयलाई प्रारम्भिक कार्यसूचीमा राखेर परिणाममुखी रूपमा अघि बढाइने उनको भनाइ थियो।
पुस्तान्तरण र अन्तरपुस्ता द्वन्द्वको बहसलाई अस्वीकार गर्दै उनले नेपाल पुस्ताहरूबीचको टकरावले होइन, सहकार्यले निर्माण हुने बताए। युवा शक्ति र अनुभवबीच समन्वय आवश्यक रहेको औंल्याउँदै ओलीले “युवा आगो हो, अनुभव उज्यालो हो; दुवैको संयोजनले मात्र राष्ट्रको भविष्य उज्यालो हुन्छ” भन्ने धारणा व्यक्त गरे।
उनले आगामी निर्वाचनलाई केवल पुस्तान्तरको प्रतिस्पर्धा नभई देश निर्माण गर्ने र अवरोध सिर्जना गर्ने शक्तिबीचको छनोटका रूपमा व्याख्या गर्दै एमालेको पक्षमा जनमत दिन आग्रह गरे।

