रौतहट, ९ फागुन २०८२ — रौतहटको गौर नगरपालिका–६ सवगढामा दुई समुदायबीच भड्किएको झडप प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरीका अनुसार बिहीबार साँझ मस्जिद जाने बाटो हुँदै जन्तीको गाडी गुज्रिएपछि सुरु भएको विवाद शुक्रबार दिनभर हिंसात्मक बनेको थियो। स्थानीय प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति गराए पनि शनिबार बिहान पुनः सवगढामै झडप चर्किएको हो।
प्रहरी स्रोतले घटनामा जमशेदको संलग्नताको केही प्रमाण फेला परेको दाबी गरेको छ। उनलाई घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय लगिएको प्रहरीले जनाएको छ। जमशेदले आफूलाई घरबाटै पक्राउ गरिएको पुष्टि गरेका छन्।
झडपका क्रममा हालसम्म १० जना सामान्य घाइते भएका छन् भने २० जना पक्राउ परेका छन्। आगजनीबाट ७ मोटरसाइकल र १ जीप जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले जानकारी दिए।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ५० भन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ राउन्ड हवाई फायर गरेका छन्। तनाव जारी रहेकाले रौतहटका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यू आदेश लागू गरेको छ।
प्रशासनले समुदायबीच संवादमार्फत स्थिति सामान्य बनाउने प्रयास जारी रहेको जनाएको छ।

