त्रिशूलीमा बस खस्यो : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

११ फागुन २०८२, काठमाडौं । धादिङमा मध्यराति भएको बस दुर्घटनामा १७ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

राति करिब साढे १ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदी किनारमा खस्दा दुर्घटना भएको हो ।

बसमा करिब ४६ जना यात्रु रहेको अनुमान गरिएको छ, तर संख्या अझै यकिन भइसकेको छैन ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको थियो । नेपाल प्रहरी र नेपाली सेनाको टोली पनि उद्धारमा संलग्न भएको छ ।

मृत्यु भएका १७ जनाको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । रातिको समय भएकाले उद्धारमा कठिनाइ भएको थियो ।

दुर्घटनामा घाइते भएका २४ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

मृतक तथा घाइतेहरूको सनाखत हुन बाँकी छ । दुर्घटनाको कारण भने अझै खुलेको छैन ।

Leave a Comment