काठमाडौं, ११ फागुन २०८२ – धादिङमा गएराति भएको बस दुर्घटनामा घाइतेमध्ये एक जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मृतकको ठेगाना स्याङ्जा हो।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको पृथ्वी यातायातको बस धादिङको बेनिघाट रोराङ्ग–५ भैंसेगौडा क्षेत्रमा त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो।
बसमा सवार ४४ मध्ये २७ जनालाई उपचारका लागि काठमाडौं र अन्य अस्पतालमा पठाइएको थियो। अचेत यात्रुहरुलाई मलेखु र जिल्ला अस्पतालमा लैजानु परेको थियो।
राति नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय र्याफ्टिङ व्यवसायीको सहयोगमा उद्धारकार्य सम्पन्न भएको थियो। यात्रुहरुलाई डुंगाको मद्दतले करिब एक किलोमिटर तलदेखि सडकसम्म पुर्याएर एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो।
दुर्घटनास्थल त्रिशूली किनारको ढुंगामा बस ठोकिएर क्षतविक्षत भएको थियो। प्रमुख जिल्ला अधिकारी सुवेदीले उद्धारकार्य रातको समय, कठिन भौगोलिक अवस्था र उद्धार सामग्रीको अभावका कारण चुनौतीपूर्ण भएको बताए।
“प्रहरी टर्च बाल्दै घाइतेहरुलाई उद्धार गर्यौं। उद्धार सामग्रीको अभाव जस्तो महसुस भयो,” उनले बताए।

