काठमाडौं, फागुन १२। फागु पूर्णिमाको आगमनसँगै होली पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ। काठमाडौंको हनुमानढोका वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याइएसँगै यस वर्षको होली आरम्भ भएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतअनुसार आज बिहान ७ बजेर १३ मिनेटमा चीर ठड्याइएको हो। रङ्गीचङ्गी ध्वजा झुन्ड्याइएको टुप्पोमा मायालु रुखको हाँगा बाँधिएको करिब ३२ फिट अग्लो तीन खण्डे बाँसको चीर ठड्याइएको छ।
चीर ठड्याएपछि सहभागीहरूले त्यसको परिक्रमा गर्दै अबीर छ्यापेर आपसमा होली खेल्न थालेका छन्। यस अवसरमा गुरुजुको पल्टनले परम्परागत हर्षबढाइँ प्रस्तुत गरेको थियो।
धार्मिक परम्पराअनुसार फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकालगायत देशभर होली पर्वको रौनक सुरु हुन्छ। ठड्याइएको चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर दहन गरेपछि होली पर्व औपचारिक रूपमा सम्पन्न हुने परम्परा छ।
यस वर्ष होली पर्व काठमाडौं उपत्यका तथा पहाडी जिल्लामा फागुन १८ गते र तराई–मधेश क्षेत्रमा फागुन १९ गते मनाइँदैछ।

