काठमाडौं, फागुन १४ — आगामी निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सरकारले आजदेखि निर्वाचन परिणाम घोषणा नभएसम्म देशभर मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ।
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदान हुने मितिभन्दा सात दिनअघि लागू हुने गरी यो प्रतिबन्ध सुरु गरिएको हो। फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुने भएकाले मदिरा निषेधको व्यवस्था अहिलेबाटै कार्यान्वयनमा आएको हो।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका २०७८ अनुसार गठित समितिले सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै यस्तो कदम चालिएको जनाएको छ। आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, विश्वसनीय र डरमुक्त बनाउन अन्य सुरक्षा व्यवस्थासमेत सुदृढ पारिएको छ।
यसैबीच, फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिने भएको छ। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्वाचन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गराउन निर्देशन दिएको छ।
निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ तथा निर्वाचन आचारसंहिता २०८२ ले निषेध गरेका गतिविधि भए तत्काल कानुनी कारबाही गरी आयोगलाई जानकारी गराउन जिल्ला अनुगमन संयन्त्रलाई समेत निर्देशन दिइएको छ।
मतदानको दिनमा भने अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइनेछ। एम्बुलेन्स, दमकल, सुरक्षा निकाय, विद्युत् तथा खानेपानी मर्मत, दूरसञ्चार सेवा लगायतका सवारी साधनलाई मात्र आवागमन अनुमति हुनेछ। यो व्यवस्था फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेल लागू रहनेछ।

