कांग्रेस एकताका लागि देउवासँग अभिभावकीय भूमिकाको अपेक्षा : सभापति गगन थापा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

३ माघ २०८२, शनिबार-काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्न निवर्तमान सभापति शेरबहादुर देउवासहितका वरिष्ठ नेताहरूले अभिभावक र संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

शनिबार केन्द्रीय कार्यसमिति बैठकअघि पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पार्टीलाई एक ढिक्का बनाउने पहल हुने अपेक्षा व्यक्त गरे। पार्टीभित्रको असमझदारी टुंग्याएर संगठनलाई अगाडि बढाउन उनीहरूको भूमिका निर्णायक हुने थापाको भनाइ थियो।

‘निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौं । उहाँले देशभरिका साथीहरूलाई अब यत्ति भन्नुहोस्– रोकौं, पार्टीलाई एकताबद्ध बनाऔं,’ थापाले भने। कार्यकारी जिम्मेवारीमा नरहँदा देखिएका असहमतिहरू अब अन्त्य हुनुपर्ने उनले संकेत गरे।

थापाले वरिष्ठ नेता शेखर कोइराला र पूर्णबहादुर खड्काबाट पनि समान भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे। निर्वाचन आयोगबाट आफ्नो नेतृत्वलाई औपचारिक मान्यता मिलिसकेपछि पार्टीलाई आन्तरिक विवादभन्दा माथि उठाएर अघि बढाउने समय आएको उनले बताए।

गत पुस २७ देखि माघ १ गतेसम्म चलेको विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएका थापालाई माघ २ गते निर्वाचन आयोगले आधिकारिकता दिएको थियो। त्यस निर्णयप्रति देउवा पक्षका केही नेताहरू असन्तुष्ट देखिए पनि अब संवाद र सहमतिबाट समाधान खोजिने थापाको भनाइ छ।

सभापति थापाले केही दिनभित्र सबै शीर्ष नेताहरूलाई एउटै टेबलमा बसालेर पार्टीको भावी बाटो तय गर्ने तयारी भइरहेको जानकारी दिए। ‘दुई–तीन दिनभित्रै सबै एक ठाउँमा आएर कांग्रेसलाई अघि बढाएको देख्नुहुनेछ,’ भन्दै उनले संवाद प्रक्रिया सुरु भइसकेको स्पष्ट पारे।

Leave a Comment