बारा/जनकपुर, फागुन १४ — मधेश प्रदेशका आठवटै जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनका गतिविधि देखिन थालेपछि प्रशासनले अनुगमन र नियन्त्रण अभियान तीव्र पारेको जनाएको छ। सार्वजनिक स्थलमा दलका झन्डा राख्ने, बाजागाजासहित जुलुस निकाल्ने तथा प्रचार सामग्री प्रदर्शन गर्ने कार्य रोक्न सुरक्षाकर्मी परिचालन गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अनुगमन समितिका संयोजक छविरमन भट्टराईले जिल्लाभरी आचारसंहिता कार्यान्वयनका लागि अनुगमन निरन्तर भइरहेको बताए। उनका अनुसार उजुरी परेका तथा अनुगमनका क्रममा भेटिएका झन्डा, बाजागाजा, माइक, डिजे लगायतका प्रचार सामग्री नियन्त्रणमा लिइएको छ।
“उम्मेदवारहरूलाई पहिले सम्झाउने–बुझाउने गरिएको छ, नमानेको अवस्थामा सुरक्षाकर्मी परिचालन गरी सामग्री नियन्त्रण गर्ने गरेका छौं,” सहायक प्रजिअ भट्टराईले भने। उनले अनुगमनका क्रममा बाराको कोल्बी क्षेत्रमा आचारसंहिता विपरीत प्रयोग भइरहेका प्रचार सामग्री सुरक्षाकर्मी खटाएर नियन्त्रणमा लिइएको जानकारी दिए।
सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र सप्तरी जिल्लाका विभिन्न स्थानमा सार्वजनिक स्थलमा दलका झन्डा राखिएको तथा बाजासहित जुलुस निकालिएको पाइएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले निगरानी बढाएको जनाएका छन्। दलहरूलाई पत्राचारमार्फत सचेत गराइएको र अटेर गरे कडाइका साथ नियन्त्रण गरिने प्रशासनको चेतावनी छ।
निर्वाचन आयोगले सार्वजनिक स्थलमा झन्डा, तडकभडक तथा बाजागाजा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। निर्वाचन नजिकिँदै जाँदा मधेश प्रदेशका जिल्लामा आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रणमा ल्याउन प्रशासनले समन्वित रूपमा अनुगमन कडा बनाएको जनाएको छ।

