अमेरिकाबाट १०० भन्दा बढी नेपाली डिपोर्ट हुने तयारी, दूतावासद्वारा नागरिकता प्रमाणीकरण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १४ फागुन २०८२।
अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका एक सयभन्दा बढी नेपालीलाई एकैपटक देश निकाला गरी नेपाल पठाउने तयारी भएको छ। वासिङ्टन डीसीस्थित नेपाली दूतावासले उनीहरूको नागरिकता तथा पहिचान प्रमाणीकरण गरिसकेको जनाएको छ।

दूतावासका एक अधिकारीका अनुसार अमेरिकी अध्यागमन निकायले पठाएको सूचीका आधारमा ती व्यक्तिहरू नेपाली नागरिक भएको पुष्टि गरी आवश्यक कागजात फिर्ता पठाइसकिएको छ। प्रमाणीकरण पूरा भएसँगै उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया अघि बढाइएको छ।

सूचीमा रहेका अधिकांश युवा मेक्सिकोको बाटो हुँदै अवैध रूपमा अमेरिका प्रवेश गरेका पुरुष रहेको जनाइएको छ। प्रारम्भमा तत्काल काठमाडौं पठाउने योजना भए पनि प्राविधिक कारणले केही दिन ढिलाइ भइरहेको स्रोतले जनाएको छ।

कडा आप्रवासन नीतिपछि डिपोर्ट वृद्धि

अमेरिकामा राष्ट्रपति को दोस्रो कार्यकाल सुरु भएपछि आप्रवासन नीतिमा कडाइ गरिएको छ। उपलब्ध तथ्यांक अनुसार सन् २०२६ जनवरीमा मात्र ८० नेपाली डिपोर्ट भएका थिए भने फेब्रुअरीसम्म यो संख्या १०१ पुगेको छ। ट्रम्प प्रशासनकालमा करिब पाँच सय नेपाली स्वदेश फर्काइएका छन्।

डिपोर्ट हुनेमध्ये धेरैले मानव तस्करलाई करिब ८० लाखदेखि १ करोड रुपैयाँसम्म बुझाएर जोखिमपूर्ण मार्ग हुँदै अमेरिका पुगेको अनुमान गरिएको छ।

डिपोर्टेसनको प्रक्रिया कसरी हुन्छ?

डिपोर्टेसन सामान्यतः तीन चरणमा सम्पन्न हुन्छः

१. पक्राउ र अभिलेख तयार
भिसा अवधि सकिएका वा अवैध रूपमा प्रवेश गरेका व्यक्तिलाई अमेरिकी अध्यागमन निकायले नियन्त्रणमा लिएर ‘ए–नम्बर’मार्फत अभिलेख तयार गर्छ।

२. कन्सुलर प्रमाणीकरण
अमेरिकी निकायले सूची सम्बन्धित देशको दूतावास पठाउँछ। दूतावासले नागरिकता वा पुराना कागजात मिलाएर सम्बन्धित व्यक्ति आफ्नै नागरिक भएको पुष्टि गरेपछि अस्थायी यात्रा अनुमति पत्र जारी गर्छ।

३. स्वदेश फिर्ता
प्रमाणीकरणपछि अमेरिकी सरकारले आफ्नै खर्चमा चार्टर्ड वा नियमित उडानमार्फत सम्बन्धित व्यक्तिलाई स्वदेश फर्काउँछ।

अन्तर्राष्ट्रिय कानुनी व्यवस्था अनुसार पनि विदेशी नागरिकलाई निष्कासन गर्दा सम्बन्धित देशको दूतावासबाट नागरिकता पुष्टि अनिवार्य हुन्छ। धेरैजसो अवैध बसोबासीसँग राहदानी नहुने भएकाले दूतावासले जारी गर्ने एकतर्फी यात्रा अनुमति पत्रकै आधारमा उनीहरूलाई स्वदेश पठाइन्छ।

Leave a Comment