काठमाडौँ, फागुन १७ (आइतबार) — मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विभिन्न खाडी देशका अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका नेपाली नागरिकलाई हाल त्यहीँ सुरक्षित रूपमा राख्ने व्यवस्था मिलाइएको सरकारकाे निष्कर्ष छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीय सुरक्षा अवस्थाका कारण उडान सेवा ठप्प भएकाले तत्काल नेपाल फर्काउने वा गन्तव्यतर्फ पठाउने अवस्था नरहेको जनाएको छ।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री बालानन्द शर्माले भने, “अहिले अधिकांश विमानस्थल बन्द छन्। यात्रुहरूलाई न नेपाल फर्काउन सकिन्छ, न अर्को गन्तव्यमा पठाउन सकिन्छ। त्यसैले उनीहरू जहाँ छन् त्यहीँ सुरक्षा सुनिश्चित गर्ने उपायमा सरकार केन्द्रित भएको छ।”
मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिले नेपाली नागरिकमा पारेको प्रभाव, आवश्यक कूटनीतिक पहल र आगामी कदमबारे पनि मन्त्रिपरिषद् स्तरमै समीक्षा भएको मन्त्री शर्माले जानकारी दिए।
सरकारले सम्बन्धित मुलुकस्थित नेपाली दूतावास र कूटनीतिक नियोगमार्फत विमानस्थलमा रोकिएका नेपालीको अवस्था निगरानी तथा आवश्यक सहजीकरण गर्न निर्देशन दिएको जनाइएको छ।

