काठमाडौं, १८ फागुन — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे गृहमन्त्री ओमप्रकाश अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबीच छलफल भएको छ।
निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा सोमबार भएको भेटमा मतदानअघिको समग्र तयारी, सुरक्षा प्रबन्ध, आचारसंहिताको कार्यान्वयन तथा मौन अवधिको व्यवस्थापनका विषयमा विस्तृत कुराकानी भएको जनाइएको छ।
निर्वाचन कार्यतालिका अनुसार फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने तय छ। यसअघि प्रचारप्रसार निषेध अवधि सोमबार मध्यरातदेखि लागू हुने भएकाले सो अवधिमा सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाइएको गृहमन्त्री अर्यालले बताएका छन्। उनले निर्वाचन सुरक्षालाई भरपर्दो बनाइएको उल्लेख गर्दै मतदाता ढुक्क भएर मतदान गर्न सक्ने अवस्था रहेको बताए।
उनका अनुसार निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि सबै सुरक्षा निकाय र सम्बन्धित पक्षबीच समन्वयमा काम भइरहेको छ, जसले भयरहित वातावरण सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।
भेटमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मौन अवधिमा आचारसंहिताको कडाइका साथ पालना गराउन सूक्ष्म अनुगमन गरिने जानकारी दिए। आचारसंहिता उल्लङ्घन गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने पनि उनले स्पष्ट पारे।
छलफलका क्रममा निर्वाचन आयोगले निर्वाचनको प्राविधिक तथा व्यवस्थापकीय तयारीबारे गृहमन्त्रीलाई जानकारी गराएको थियो। मतपत्र, मतपेटिका र अन्य सामग्री सम्बन्धित जिल्लामा पठाइसकिएको तथा मतदानपछि मतपेटिका सुरक्षित ढुवानीका लागि आवश्यक प्रबन्ध मिलाइएको आयोगले जनाएको छ।
यसअघि गृहमन्त्री अर्याल र कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सुरक्षाका दृष्टिले संवेदनशील मानिएका केही मतदान केन्द्रहरूको स्थलगत अनुगमनसमेत गरेका थिए।






