गोरखा, १८ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भएको ड्रोन आक्रमणमा परी गोरखाका एक नेपाली युवकको मृत्यु भएको छ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस श्रेष्ठको आइतबार निधन भएको हो ।
चार वर्षअघि रोजगारीका लागि दुबई पुगेका श्रेष्ठ चामबहादुर र पवित्रा श्रेष्ठका एकमात्र छोरा हुन् । उनी सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए ।
दशैँमा विवाह गर्ने योजना अधुरै
गत वर्षको दशैँमा घर आएका श्रेष्ठले आगामी दशैँमा विवाह गरेर स्थायी रूपमा घर फर्किने योजना परिवारलाई सुनाएका थिए । तर विदेशमै उनको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ ।
काका प्रदीप श्रेष्ठका अनुसार घटना अघिल्लो दिनसम्म उनी परिवारसँग भिडियो कलमा सम्पर्कमा थिए । “त्यहाँ अवस्था सामान्य भए पनि आकाशमा मिसाइल पड्किरहेको छ भनेको थियो,” उनले भने, “त्यसपछि सम्पर्क हुन सकेन ।”
दूतावासबाट आयो मृत्युको पुष्टि
अबुधाबीस्थित नेपाली दूतावासले सोमबार जारी सूचनामा अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि गरेको छ । यूएईको परराष्ट्र मन्त्रालयबाट प्राप्त आधिकारिक जानकारीका आधारमा मृत्यु पुष्टि गरिएको दूतावासले जनाएको छ ।
गाउँ शोकमग्न
दिवसको मृत्युको खबरपछि बोर्लाङ ठाँटी गाउँ शोकमा डुबेको छ । वडाध्यक्ष नारायण श्रेष्ठका अनुसार घरमा बुबा र हजुरआमा छन् भने आमा काठमाडौँमा छोरीकहाँ रहेकी छन् ।
“घरमा बेहाल अवस्था छ । शव कहिले आउने भन्ने टुंगो छैन,” उनले भने, “गाउँले सबै स्तब्ध छन् ।”

