२० फागुन २०८२, बुधबार
वीरगञ्ज । पर्सामा चुनावको संवेदनशील समयमा हिंसा भड्काउने उद्देश्यले सुतली बम र सुँगुरको टाउको बोकेर हिँडिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार राति नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा फेला परेका उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रारम्भिक अनुसन्धानबाट उनीहरूले पसलबाट सुँगुरको टाउको किनेर मस्जिद परिसरमा फ्याँक्ने योजना बनाएको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको साथबाट नौ थान सुतली बम, केही तार तथा अन्य सामग्री बरामद गरिएको छ। प्रहरीले घटनालाई समयमै नियन्त्रणमा लिएर धार्मिक संवेदनशीलता कायम राखेको जनाएको छ।
यस विषयमा थप अनुसन्धान जारी रहेको र संलग्नमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।

