बारा, साउन ५ — बाराको कलैया उपमहानगरपालिका–४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै तीव्र गतिमा आएको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार राति करिब साढे १२ बजेको समयमा बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा १ क ४८३६ नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो।
दुर्घटनामा ट्रकमा सवार कलैया क्षेत्रका ४० वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा उपचारकै क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै दुर्घटनामा जितपुर–सिमरा उपमहानगरपालिका–८ इमलीप्रति निवासी करिब ५० वर्षीय देव नारायण चौधरी घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल कलैयामै उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरीले ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९ सिमरा भवानीपुर निवासी २७ वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ।
ट्रकको ठक्करबाट घरको एकातर्फको पर्खालसमेत भत्किएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
कलैयामा अनियन्त्रित मिनी ट्रक घरमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
Leave a Comment
Leave a Comment

