निर्वाचनको को तयारी पूरा, प्रतिनिधिसभा निर्वाचन आज

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन आज देशभर एकै चरणमा हुँदैछ। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म ७७ वटै जिल्लामा मतदान सञ्चालन हुने भएको छ।

यसपटक १६५ प्रत्यक्ष निर्वाचन क्षेत्र र ११० समानुपातिक सिटका लागि मतदान हुन लागेको हो। प्रत्यक्षतर्फ ६५ राजनीतिक दलसहित स्वतन्त्र उम्मेदवार गरी ३ हजार ४०६ जना चुनावी मैदानमा छन् भने समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।

निर्वाचन आयोगका अनुसार कुल मतदाता संख्या एक करोड ८९ लाख ३ हजार ६८९ छ। त्यसमध्ये ९६ लाखभन्दा बढी पुरुष, ९२ लाखभन्दा बढी महिला तथा २०० अन्य मतदाता छन्। साथै १ लाख ८६ हजारभन्दा बढी अस्थायी मतदाता कायम गरिएको छ।

देशभर १० हजार ९६७ मतदानस्थलअन्तर्गत २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन्। थप १४३ अस्थायी मतदानस्थल पनि तय गरिएका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती र अशक्त मतदातालाई प्राथमिकताका साथ मतदानको व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

झण्डै तीन लाख सुरक्षाकर्मी खटाइए

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ। करिब ७९ हजार नेपाली सेना, ७५ हजारभन्दा बढी नेपाल प्रहरी, ३४ हजारभन्दा बढी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका करिब २ हजार कर्मचारी परिचालन गरिएका छन्। निर्वाचन सुरक्षामा मात्र करिब तीन लाख सुरक्षाकर्मी खटिएका छन्।

निर्वाचन सञ्चालनका लागि दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ। आयोगले चार करोडभन्दा बढी मतपत्र छपाइ गरी सबै मतदान केन्द्रमा पुर्‍याइसकेको जनाएको छ।

यस निर्वाचनको अवलोकनका लागि चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाका पर्यवेक्षक खटिएका छन्।

मतदानमा सहभागी हुन आह्वान

राष्ट्रपति , उपराष्ट्रपति , प्रधानमन्त्री लगायतले मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अपिल गरेका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचनलाई सबैभन्दा ठूलो अनुष्ठानको रूपमा व्याख्या गर्दै प्रत्येक मतले शासन र नेतृत्वको दिशा तय गर्ने उल्लेख गरेका छन्।

निर्वाचनमा सहभागिता जनाउनु हरेक नागरिकको सार्वभौम अधिकार भएकाले निर्धक्क र जिम्मेवार ढंगले मतदान गर्न आयोगले आग्रह गरेको छ।

Leave a Comment