जेनजी आन्दोलन जाँचबुझ आयोगले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२४ फागुन,काठमाडौ-गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा र तोडफोड घटनाहरूको छानबिन गर्न गठित जाँचबुझ आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, आयोगले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (सिंहदरबार) मा प्रतिवेदन पेश गर्नेछ। प्रतिवेदन बुझाएपछि यसलाई मन्त्रिपरिषद्‌मा प्रस्तुत गरेर अध्ययन गरी कार्यान्वयनमा लगाइनेछ।

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले कुनै प्रकारको दण्डहीनतालाई समर्थन नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

जाँचबुझ आयोग पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन भएको थियो। असोज ५ गते ३ सदस्यीय आयोग गठन भए पनि, काम समयमै सम्पन्न नहुँदा पटकपटक म्याद थप गरिएको थियो। अन्ततः निर्वाचन नबिथोलियोस् भनेर प्रतिवेदन चुनावपछि बुझाउने निर्णय गरिएको थियो।

जेनजी आन्दोलनमा ७६ जनाको ज्यान गएको थियो र तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ। आयोगले दमनमा संलग्न ठानिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलगायतबाट बयान लिएको थियो।

Leave a Comment