१६५ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाको भारी बहुमत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २५ फागुन २०८२ — निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको छ। अन्तिम परिणाम सोमबार राति संखुवासभा क्षेत्रको मतगणना सकिएसँगै सार्वजनिक गरिएको हो।
संखुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्की विजयी भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिङ्मा शेर्पालाई पराजित गरेका हुन्।
त्यस्तै धनुषा–१ मा उम्मेदवारी खारेजीका कारण विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी घोषित गर्दै प्रमाणपत्र प्रदान गरेको छ। यस विषयमा रास्वपाका उम्मेदवारले अदालतमा मुद्दा दर्ता गरेका छन्।
प्रत्यक्षतर्फको अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी १२५ सिट जितेर स्पष्ट बहुमत हासिल गरेको छ।
त्यस्तै नेपाली कांग्रेस ले १८ सिट, नेकपा एमाले ले ९ सिट, नेकपा ले ८ सिट, श्रम संस्कृति पार्टी ले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेका छन्।
यस्तै म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
देशभर प्रतिनिधिसभाका २७५ सदस्य चयनका लागि फागुन २१ गते मतदान भएको थियो। प्रत्यक्षतर्फ १६५ जना र समानुपातिक प्रणालीबाट ११० जना सांसद चयन हुने व्यवस्था छ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ हालसम्म करिब एक करोड मत गणना भइसकेको छ। प्रारम्भिक मतपरिणामले रास्वपा समानुपातिकतर्फ पनि अग्रस्थानमा रहने संकेत देखाएको छ।
समानुपातिक प्रणालीमा प्रतिनिधित्व पाउन आवश्यक तीन प्रतिशत थ्रेसहोल्ड भने रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा ले पार गरेका छन्।

 

Leave a Comment