२८ चैत २०८२, शनिबार,काठमाडौ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र नयाँ भनिएका राजनीतिक शक्तिहरूमाथि कडा टिप्पणी गरेका छन्। उनले ‘सुशासन’को नाममा आएको नेतृत्वले पारदर्शिता कायम गर्न नसकेको आरोप लगाए।
पोखरेलले विशेषगरी सभामुख डोल प्रसाद अर्यालको सम्पत्ति विवरणबारे प्रश्न उठाउँदै विदेशमा कमाएको भनिएको सम्पत्ति कुन माध्यमबाट नेपाल भित्रिएको हो र त्यसमा राज्यलाई कर तिरिएको छ वा छैन भन्ने स्पष्ट गर्नुपर्ने बताएका छन्।
उनले श्रमिकबाट मालिक बन्नु स्वाभाविक प्रक्रिया भए पनि आर्थिक स्रोत पारदर्शी हुनुपर्ने उल्लेख गरे। “विदेशमा कमाएको भनिएको सम्पत्ति कुन च्यानलबाट आयो र कर तिरियो कि तिरिएन भन्ने विषयमा सभामुखले जवाफ दिनुपर्छ,” उनले भने।
त्यस्तै, मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ गरेकोप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। एमालेका नेताहरू जुनसुकै जाँच वा परीक्षणका लागि तयार रहेको दाबी गर्दै उनले नयाँ भनिएका शक्तिहरू पनि त्यही स्तरको पारदर्शितामा आउनुपर्ने चुनौती दिए।
कार्यक्रममा उनले पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध लक्षित गतिविधि भइरहेको आरोप समेत लगाए। जाँचबुझ आयोगलाई ‘प्रतिशोधको औजार’ बनाइएको दाबी गर्दै उनले त्यस्तो कदमको एमालेले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

