रास्वपाको सफलतापछि पाकिस्तानी प्रधानमन्त्रीको फोन, रवि र बालेनलाई बधाई

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, २८ फागुन २०८२ (बिहीबार)
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ ले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई टेलिफोन गरेर बधाई दिएका छन्।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको उल्लेखनीय सफलतापछि प्रधानमन्त्री शरीफले उनीहरूलाई फोन गरी बधाई दिएका हुन्।

उनले रास्वपालाई प्राप्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गरेका छन्। साथै, आगामी दिनमा नेपाल र पाकिस्तानबीचको ऐतिहासिक मित्रता तथा सहकार्यलाई अझ सुदृढ बनाउन आफूहरू इच्छुक रहेको पनि बताएका छन्।

पाकिस्तानी राजदूतावासका अनुसार नवनिर्वाचित नेपाल सरकारसँग सहकार्य बढाएर दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने विषयमा पनि प्रधानमन्त्री शरीफले प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले पनि टेलिफोनमार्फत रवि लामिछाने र बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएका थिए।

Leave a Comment