कतार एयरवेजको ‘सीमित उडान’ तालिका, नेपाल उडान अझै अनिश्चित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, फागुन २८ — इरानमा युद्धका कारण कतारको हवाई क्षेत्र बन्द भएपछि नियमित उडान प्रभावित भएको अवस्थामा कतार एयरवेजले दोहा आवतजावतका लागि ‘सीमित उडान’ तालिका सार्वजनिक गरेको छ।

एयरलाइन्सले मार्च १७ सम्मका लागि दिल्ली, ढाका, न्यूयोर्क, बेइजिङ, मुम्बईसहित विश्वका १४ शहरमा दैनिक उडान सञ्चालन गर्ने नयाँ तालिका ल्याएको छ। कतार नागरिक उड्डयन प्राधिकरणबाट अस्थायी अनुमति प्राप्त भएपछि प्रभावित यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउन कम्पनीले यस्तो कदम चालेको जनाएको छ।

तर, दैनिक तीन उडान हुने नेपाल–दोहा सेक्टरका लागि भने एयरलाइन्सले अझै कुनै ठोस निर्णय सार्वजनिक गरेको छैन। कतार एयरवेजले आफ्नो आधिकारिक सूचनामा भनेको छ, “कतारको हवाई क्षेत्र बन्द भएकाले सबै नियमित उडानहरू स्थगित छन्। हामी ग्राहकहरूको यात्रामा सहयोग गर्न अधिकतम प्रयास गरिरहेका छौं।”

एयरलाइन्सले अलपत्र परेका यात्रुका लागि केही सिधा ‘प्वाइन्ट–टु–प्वाइन्ट’ उडानको व्यवस्था पनि गरेको छ। साथै, टिकट कन्फर्म नभएसम्म विमानस्थलमा नजान यात्रुहरूलाई अनुरोध गरिएको छ।

नेपाल उडानको अवस्था:
कतार एयरवेज नेपालमा धेरै यात्रु बोकेको र नियमित उडान गर्ने प्रमुख एयरलाइन्समध्ये एक हो। सामान्य अवस्थामा दोहा–काठमाडौँ सेक्टरमा दैनिक तीन उडान संचालन हुँदै आएको छ। वैदेशिक रोजगारी, युरोप वा अमेरिका जाने नेपालीहरूको लागि यो एयरलाइन्स प्राथमिक रोजाइ हो। हाल नेपाल उडानको तालिका खुला नभएकाले सयौँ यात्रु अनिश्चित अवस्थामा छन्।

एयरलाइन्सले भनेको छ, “सिभिल एभिएसन अथोरिटीले हवाई क्षेत्र पूर्ण रूपमा सुरक्षित घोषणा गरेपछि मात्रै नियमित उडान पुनः सुरु गरिनेछ।”

Leave a Comment