जेनजी आन्दोलनपछि सुरक्षा कारबाही तीव्र: करिब १० हजार फरार कैदी पक्राउ, ७३३ लुटिएका हतियार फिर्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, पुस १३, २०८२ :
जेनजी आन्दोलनका क्रममा कारागार तोडफोड र आगजनीपछि फरार भएका कैदीबन्दी तथा लुटिएका हतियार नियन्त्रणमा लिन सुरक्षा निकायले थालेको विशेष कारबाही उल्लेख्य रूपमा सफल हुँदै गएको छ। नेपाल प्रहरीले हालसम्म करिब १० हजार फरार कैदीबन्दीलाई पक्राउ गरी पुनः कारागार चलान गरेको जनाएको छ भने ७३३ थान लुटिएका हतियार फिर्ता भएका छन्।

आन्दोलनका क्रममा देशका विभिन्न कारागारमा तोडफोड र आगजनी भएपछि १४ हजार ५४० कैदीबन्दी फरार भएका थिए। तीमध्ये हालसम्म ९ हजार ९६० जनालाई पक्राउ गरिएको छ। अझै ४ हजार ५८० कैदीबन्दी फरार रहेकाले उनीहरूको खोजीका लागि विशेष अपरेशन सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ।

फरारमध्ये केही विदेशी नागरिकसमेत रहेका छन्। अधिकांश भारतीय नागरिक भएकाले उनीहरू भारततर्फ भागेको आशंका गरिएको छ। यसै कारण अध्यागमन विभागले फरार कैदीबन्दीहरू विदेश नभागून् भन्ने उद्देश्यले उनीहरूलाई कालोसूचीमा राखिएको जनाएको छ। नेपालभित्र लुकिछिपी बसेकाहरूलाई पक्राउ गर्न लक्षित अपरेशन थप सशक्त बनाइएको प्रहरीले बताएको छ।

यता, जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायका हतियारसमेत लुटपाट भएका थिए। गृह मन्त्रालयका अनुसार हालसम्म ७३३ थान हतियार फिर्ता भइसकेका छन्। आन्दोलनका बेला नेपाल प्रहरीका मात्रै १ हजार २७१ हतियार लुटिएका थिए भने सशस्त्र प्रहरी बलका समेत केही हतियार हराएका थिए। कुल लुटिएका हतियारको संख्या करिब १ हजार ३ सयको हाराहारीमा रहेको सुरक्षा निकायको अनुमान छ।

हालसम्म करिब साढे पाँच सय हतियार अझै फिर्ता आउन बाँकी छन्। सुरक्षा निकायका अनुसार नफेला परेका हतियारमध्ये केही प्रदर्शनकारीहरूले खोलानाला र झाडीमा फालेको हुन सक्ने तथा केही हतियार आपराधिक पृष्ठभूमिका व्यक्तिले लुकाएर राखेको आशंका गरिएको छ।

गृह मन्त्रालयमा भएको ब्रिफिङमा एक सुरक्षा अधिकारीले धेरैजसो हतियार फिर्ता आइसकेको र बाँकी हतियार पनि चरणबद्ध रूपमा बरामद हुने विश्वास व्यक्त गरेका छन्। सरकार र सुरक्षा निकायले जेनजी आन्दोलनपछि उत्पन्न सुरक्षा चुनौतीलाई नियन्त्रणमा लिन खोजी, पक्राउ र बरामद प्रक्रिया थप तीव्र बनाएका छन्।

Leave a Comment