काम नगर्ने ठेकेदारमाथि मन्त्री लम्सालको विवादास्पद अभिव्यक्ति, चौतर्फी आलोचना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार १ — बागमती प्रदेशका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले काममा ढिलासुस्ती गर्ने ठेकेदारको ‘खुट्टा भाँच्नू’ भन्दै दिएको निर्देशन विवादमा परेको छ।
आइतबार नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाअन्तर्गत नौबिसे–मलेखु सडकखण्डको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले निर्माण कार्यमा संलग्न ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै कडा अभिव्यक्ति दिएका थिए। उनले विद्युत् पोल स्थानान्तरणलगायतका काममा ढिलाइ भएको भन्दै सम्बन्धित ठेकेदारलाई खोजेर ल्याउन र पुनः काम नगरे कडा कारबाही गर्न निर्देशन दिएका थिए।
घाटबेसी क्षेत्रमा गरिएको अनुगमनका क्रममा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। भिडियो सार्वजनिक भएपछि जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिबाट कानुनी शासन र प्रशासनिक मर्यादाविपरीत अभिव्यक्ति आएको भन्दै आलोचना बढेको छ।
अनुगमनका बेला मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय तथा प्रहरी उपरीक्षक सुमित खड्का पनि उपस्थित थिए।
नागढुंगा–मुग्लिन सडक विस्तार आयोजना लामो समयदेखि सुस्त गतिमा अघि बढिरहेको अवस्थामा मन्त्री लम्सालले निर्माण कम्पनीप्रति असन्तुष्टि जनाएका हुन्। तर, उनको अभिव्यक्तिले प्रशासनिक संयम र राजनीतिक जिम्मेवारीमाथि प्रश्न उठाएको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न क्षेत्रबाट प्रतिक्रिया आइरहेका छन्।

Leave a Comment