शनिबार ३० फागुन २०८२, काठमाडौ-गोरखामा मनकामना दर्शन गरेर फर्किरहेका यात्रु बोकेको माइक्रो बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटना शनिबार राति गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–३ कान्टारमा भएको हो।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनामा ५ पुरुष र २ महिलासहित ७ जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
माइक्रो बसमा चालकसहित १४ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि तनहुँको आबुँखैरेनी अस्पताल पठाइएको छ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखा तथा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको सुरक्षाकर्मीको टोलीले उद्धार कार्य गरेको थियो।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

