देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, माघ ६ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता सोमबार सम्पन्न भएको छ। निर्वाचन आयोगले जनाएको अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा गरी २ हजार ९ सय २५ जनाले मनोनयन दर्ता गराएका छन्।

आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार साँझ ६ बजेसम्म संकलित विवरणमा महिला ३३६ जना र पुरुष २ हजार ५ सय ८९ जना उम्मेदवार छन्। त्यस्तै, समावेशी कोटाअन्तर्गत अपाङ्गता भएका व्यक्तिबाट ८५ जना तथा पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाको उम्मेदवारी परेको छ। यो प्रारम्भिक तथ्यांक भएकाले अन्तिम संख्यामा केही परिवर्तन हुन सक्ने आयोगले स्पष्ट पारेको छ।

उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको भन्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरोकारवाला सबैलाई धन्यवाद दिएका छन्।

निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ। त्यसपछि माघ ८ गते उजुरीमाथि जाँचबुझ गरी बेलुका ७ बजेसम्म उम्मेदवारको नाम सार्वजनिक गरिनेछ।

उम्मेदवारले नाम फिर्ता लिन चाहेमा माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। सोही दिन साँझ ७ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

Leave a Comment