गोरखा बस दुर्घटनामा मृत्यु हुने सबै भारतीय नागरिक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

आइतबार १ चैत २०८२, काठमाडौं-गोरखामा शनिबार राति भएको सवारी दुर्घटनामा ज्यान गुमाउने सातै जना भारतीय नागरिक रहेको पुष्टि भएको छ। मनकामना मन्दिर दर्शन गरेर फर्किरहेका यात्रु सवार माइक्रोबस दुर्घटना हुँदा उक्त घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भरतबहादुर बिकका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस सहिद लखन गाउँपालिका–३ कान्टारमा अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा माइक्रोबसमा सवार १४ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृतकमध्ये पाँच जना पुरुष र दुई जना महिला रहेका छन्। घाइते सात जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार माइक्रोबसका चालक र सहचालक बाहेक अन्य सबै यात्रु भारतीय नागरिक थिए। मृतकहरूको पहिचान खुलाउने प्रक्रिया भने जारी रहेको बताइएको छ।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले उद्धार कार्य गरेको थियो। मृतकका शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ भने दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Comment