काठमाडौं, ६ चैत-नेपाली कांग्रेसका बारा क्षेत्र नं. ४ का उम्मेदवार श्यामबाबु गुप्ताले जिल्ला सभापति राजेश राय यादवसहित केही नेतामाथि अनुशासनात्मक कारबाहीको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी दिएका छन्।
गुप्ताले प्रतिनिधिसभा निर्वाचनका क्रममा आफूलाई असहयोग गरिएको आरोप लगाउँदै सभापति यादवसहित सात जनालाई कारबाही गर्न माग गरेका हुन्। उनले उनीहरूलाई पार्टी गतिविधिबाट निलम्बन गर्नुपर्ने पनि उल्लेख गरेका छन्।
उनको उजुरीमा जिल्ला उपसभापति अमेरिला पाल र पूर्व संविधानसभा सदस्य शोभाकर पराजुलीको नाम समेत समावेश छ। गुप्ताले उनीहरू निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध सक्रिय भएको दाबी गरेका छन्।
त्यसैगरी, क्षेत्र नं. ४ का सभापति सुनिल गुप्ता, पूर्व महाधिवेशन प्रतिनिधि कृवष व्रत सिंह, बारा–४ (ख) का सभापति सुमनकुमार भट्टराई तथा जितपुर–सिमरा नगर कार्यसमिति सभापति छाबिलाल शर्मा विरुद्ध पनि कारबाहीको माग गरिएको छ।
यसअघि बारा–२ का उम्मेदवार भैयाराम प्रसाद यादवले पनि जिल्ला सभापति राजेश राय यादवलाई पार्टीबाट निष्कासन गर्नुपर्ने माग गरेका थिए। साथै, बारा–३ क्षेत्रीय कार्यसमितिले पनि १६ जनामाथि अन्तर्घातको आरोप लगाउँदै कारबाही सिफारिस गरेको थियो।






