मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु, बारा–पर्सा–रौतहटमा पनि तयारी तीव्र

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

जलेश्वर/बारा/पर्सा/रौतहट, चैत ८, २०८२ — मिथिलाञ्चल क्षेत्रमा आजदेखि चारदिने चैती छठ पर्व विधिवत रूपमा सुरु भएको छ।

महोत्तरीसहित धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायत तराई–मधेसका जिल्लामा धार्मिक विधिपूर्वक छठ पर्व मनाउन थालिएको हो।

बारा, पर्सा र रौतहटका विभिन्न नदी, पोखरी र तलाउहरूमा छठ घाट सरसफाइ, सजावट तथा व्यवस्थापनका काम तीव्र पारिएको छ। स्थानीय तह, युवा क्लब र श्रद्धालुहरू मिलेर छठ घाट व्यवस्थित बनाउने काममा जुटेका छन्।

महोत्तरीको जलेश्वर, मटिहानी, गौशाला, सम्सी, बर्दिबासलगायत क्षेत्रमा जस्तै अन्य जिल्लामा पनि नदी, नहर र पोखरी किनारमा भक्तजनको चहलपहल बढ्न थालेको छ।

धार्मिक विश्वासअनुसार सूर्य उपासनामा आधारित छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने परम्परा छ। यस पर्वले सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने विश्वास गरिन्छ।

चार दिनसम्म विशेष विधि

चैती छठ चार दिनसम्म विभिन्न धार्मिक विधि अनुसार मनाइन्छ।

पहिलो दिन (नहाय–खाय) : व्रतीहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गर्ने

दोस्रो दिन (खर्ना) : दिनभर उपवास बसेर साँझ प्रसाद ग्रहण गर्ने

तेस्रो दिन (षष्ठी) : अस्ताउँदो सूर्यलाई अर्घ अर्पण

चौथो दिन : उदाउँदो सूर्यलाई अर्घ दिएर पर्व समापन

षष्ठीका दिन ठकुवा, भुसवा, खजुरिया, पेरुकिया लगायतका परिकार, फलफूल र पूजा सामग्री लिएर भजन–कीर्तनसहित घाटमा पुग्ने परम्परा छ।

सामाजिक सद्भावको प्रतीक

छठ पर्व धार्मिक आस्थासँगै सामाजिक सद्भावको प्रतीकका रूपमा पनि लिइन्छ। हिन्दू धर्मावलम्बी मात्र नभई अन्य समुदायका मानिसहरू पनि यस पर्वमा सहभागी हुने गर्छन्।

पारिवारिक सुख, शान्ति, समृद्धि तथा रोगबाट मुक्ति कामना गर्दै श्रद्धापूर्वक मनाइने छठमा तराईका नदी तथा जलाशय क्षेत्रमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।

Leave a Comment