काठमाडौं, भदौ २३ — जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ।
सरकारले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ घोषणा गर्दै सार्वजनिक बिदासमेत दिएको छ।
स्मृति दिवसको अवसरमा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी समाजले विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा सरकारका विभिन्न मन्त्री तथा सांसदहरूको उपस्थिति रहेको छ।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र कृषिमन्त्री गिता चौधरीलगायत सहभागी छन्।
जेनजी आन्दोलनको सुरुवात भएको भदौ २३ गतेलाई सरकारले शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सोही दिन काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो।
उक्त घटनाको विरोधमा भोलिपल्ट अर्थात् भदौ २४ गते देशका विभिन्न स्थानमा प्रदर्शन भएका थिए। दुई दिनसम्म चलेको आन्दोलनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसहित ७६ जनाले ज्यान गुमाएका थिए।
आन्दोलनका क्रममा सरकारी तथा निजी क्षेत्रका विभिन्न भौतिक संरचनामा समेत आगजनी र क्षति भएको थियो।
जेनजी शहीद दिवसका अवसरमा आयोजना गरिएका कार्यक्रममार्फत आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको योगदान र बलिदानको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ।

