कांग्रेस समीक्षा : २१ क्षेत्रमा अन्तर्घातले हार, असहयोगी नेतालाई ‘सम्मान’ गर्ने प्रस्ताव

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, ८ चैत — नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ। यहीबीच, चुनावमा असहयोग गर्ने नेताहरूलाई कारबाही नगरी ‘सम्मान’ गर्नेसम्मको प्रस्ताव पनि बैठकमा उठेको छ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रमा मुख्यत: आन्तरिक कारण जिम्मेवार रहेको बताए। उनका अनुसार ३ हजारदेखि ५ हजारसम्मको मतान्तरमा पराजित भएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै चुनावी अभियानको कमजोरी देखिएको छ भने ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा अन्तर्घात, कमजोर क्याम्पेन र प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको निष्कर्ष छ।

उनले परम्परागत भोट ‘ट्रान्सफर’ मात्र नभई मतदाताको ‘माइन्डसेट’ नै परिवर्तन भएको हुनसक्ने भन्दै यस विषयमा गम्भीर समीक्षा भइरहेको बताए। ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य हुँदाहुँदै अपेक्षित मत नआउनु पार्टीका लागि चिन्ताको विषय बनेको पनि उनले उल्लेख गरे।

बैठकमा संगठनात्मक कमजोरीसँगै कतिपय क्षेत्रमा मतदाताको विश्वासमै कमी आएको विश्लेषण समेत गरिएको छ। केन्द्रीय समितिमा मुख्यत: निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी विषयमा छलफल भइरहेको जनाइएको छ।

यसैबीच, केन्द्रीय सदस्य शम्भु बुढाथोकीले चुनावमा असहयोग गर्ने नेताहरूलाई कारबाही नगर्ने हो भने ‘सम्मान’ गर्नुपर्ने प्रस्ताव राखे। उनले पटक-पटक अवसर पाएका नेता तथा कार्यकर्ताले नै चुनावमा भोट नहालेको र ‘साइलेन्ट’ बसेको भन्दै आक्रोश व्यक्त गरे।

सभापति गगनकुमार थापाको राजीनामाबारे पनि बैठकमा व्यापक छलफल भएको छ। अधिकांश नेताहरूले राजीनामा विधानसम्मत भए पनि अस्वीकृत गरी उनलाई जिम्मेवारीमै राख्नुपर्ने धारणा राखेका छन्। नेता प्रेमबहादुर खड्कालगायतले औपचारिक रूपमा राजीनामा अस्वीकृत गर्नुपर्ने बताएका छन्।

बैठकमा अन्य नेताहरूले चुनाव हार्नुका विभिन्न कारण औंल्याएका छन्। केहीले जेनजी आन्दोलनसम्बन्धी बाह्य ‘न्यारेटिभ’ र सञ्चारमाध्यममा आएका सामग्रीले नकारात्मक प्रभाव पारेको बताए भने केहीले गठबन्धन सरकारसँग जोडिएको भ्रष्टाचार र कुशासनप्रति जनआक्रोशले असर गरेको विश्लेषण गरेका छन्।

त्यस्तै, टिकट वितरणमा ढिलाइ, चुनावी तयारीको अभाव, भ्रातृ संस्थाहरूको निष्क्रियता र क्रियाशील सदस्यहरूबाटै अपेक्षित समर्थन नपाउनु पनि हारका प्रमुख कारणका रूपमा उठाइएको छ।

हालसम्म ३७ जना केन्द्रीय सदस्यहरूले बैठकमा धारणा राखिसकेका छन्, जहाँ प्रत्येकलाई ५ मिनेट समय दिइएको छ।

पार्टीले समग्र समीक्षा पश्चात् संगठन सुदृढ गर्दै पुनः जनतामाझ सशक्त रूपमा प्रस्तुत हुने कार्यदिशा तय गर्ने जनाएको छ।

Leave a Comment