काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ठूलो मात्रामा घटिसक्दा पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटेको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना भइरहेको छ।
केही समयअघि प्रतिब्यारेल ११७ अमेरिकी डलरसम्म पुगेको कच्चा तेलको मूल्य अहिले घटेर करिब ६९ डलरमा झरेको छ। विश्व बजारमा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले भने अझै महँगो मूल्यमा इन्धन किन्न बाध्य छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको लामो समय बितिसक्दा पनि नेपालमा इन्धनको मूल्य समायोजन नगरिएको भन्दै प्रश्न उठाएका छन्। उनले मूल्य बढ्नेबित्तिकै समायोजन गर्ने तर घट्दा ढिलाइ गर्ने प्रवृत्ति गलत भएको बताएका छन्।
पौडेलले कच्चा तेल र प्रशोधित तेलको मूल्यबीच केही फरक भए पनि यति ठूलो गिरावटपछि उपभोक्ताले राहत पाउनुपर्ने बताएका छन्। उनले सरकार र निगमले पारदर्शिता नदेखाएको आरोपसमेत लगाएका छन्।
नेपाल आयल निगमले भने भारतीय आयल कर्पोरेसनबाट नयाँ मूल्यसूची आएपछि मात्र मूल्य घटाउने प्रक्रिया अघि बढाउने जनाएको छ। निगमका अनुसार पेट्रोल र डिजेलको नयाँ मूल्यसूची प्रत्येक महिनाको १ र १६ तारिखमा आउने गर्छ।
निगमका प्रवक्ता मनोज ठाकुरले विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा उपभोक्तालाई तत्काल ठूलो भार नपरोस् भनेर निगमले घाटा बेहोरेको दाबी गरेका छन्। उनले मूल्य स्थिरीकरण कोष र निगमको सञ्चित रकमबाट करिब ३६ अर्ब रुपैयाँ खर्च भइसकेको बताए।
तर उपभोक्ता अधिकारकर्मीहरूले निगमको यो तर्कलाई अस्वीकार गर्दै आएका छन्। उनीहरूले अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो हुँदा पनि नेपालमा मूल्य नघटाउनु उपभोक्तामाथि अन्याय भएको बताएका छन्।
इन्धनको मूल्य नघट्दा ढुवानी खर्च, यातायात र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत प्रभावित भएको छ। सर्वसाधारणको गुनासो छ– अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा सस्तो इन्धनको सुविधा कहिले पाउने?
तेलको भाउ घट्यो, नेपालमा किन घटेन ? सरकार र निगममाथि उठ्यो प्रश्न
Leave a Comment
Leave a Comment






