काठमाडौं, १२ चैत — यस साता अन्त्यतिर नेपालमा पुनः पश्चिमी वायु सक्रिय हुने संकेत देखिएको छ। यसको प्रभावले देशभर हल्कादेखि मध्यम वर्षा, हावाहुरी तथा मेघगर्जन हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार देशका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी पूर्वी क्षेत्रमा प्रभाव बढी र पश्चिमतर्फ केही कम रहने देखिएको छ।
वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा पनि ती दिनहरूमा हल्कादेखि मध्यम वर्षासँगै हावाहुरी चल्न सक्ने सम्भावना छ। मौसमविद् बिनु महर्जनले बिहीबारदेखि नै यसको संकेत देखिन सुरु हुने बताएकी छन्।
प्रिमनसुनको समय भएकाले यस अवधिमा हावाहुरी र चट्याङका घटना बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ।
काठमाडौंमा कस्तो प्रभाव ?
आगामी प्रणालीले काठमाडौं उपत्यकामा पनि असर पार्ने भए पनि अत्यधिक शक्तिशाली हुरी चल्ने सम्भावना भने कम रहेको जलवायु अध्येता डा. धर्मराज उप्रेतीको भनाइ छ। उनका अनुसार बिहार र उत्तरप्रदेश क्षेत्रबाट प्रणाली नेपाल प्रवेश गर्ने भएकाले लुम्बिनी र चितवन क्षेत्रमा प्रभाव केही बढी हुन सक्छ।
डा. विनोद पोखरेलका अनुसार पश्चिम तराईमा वर्षा कम भए पनि अन्य धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना राम्रो रहेको छ।
कति शक्तिशाली छ प्रणाली ?
यसअघि चैत ६ र ७ गते आएको प्रणालीको तुलनामा अहिलेको प्रणाली कम शक्तिशाली हुने अनुमान गरिएको छ। विभिन्न अन्तर्राष्ट्रिय मौसम मोडेलहरूले पनि सामान्यदेखि मध्यम वर्षा हुने संकेत दिएका छन्।
मौसमविद्हरूका अनुसार यसको प्रभाव शुक्रबार साँझदेखि सुरु भई शनिबारसम्म रहने सम्भावना छ।
भारतमा बढी असर
यो प्रणालीको प्रभाव भारतका विभिन्न क्षेत्रमा बढी पर्ने अनुमान गरिएको छ। भारतीय मौसम विभागले केही क्षेत्रमा मध्यम जोखिमको चेतावनी समेत जारी गरेको छ।
जम्मु–कश्मीर, हिमाचल प्रदेश र उत्तराखण्डमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने पञ्जाब, हरियाणा, दिल्ली र उत्तर प्रदेशमा मेघगर्जनसहित वर्षा र हावाहुरीको सम्भावना देखिएको छ।
यस प्रणालीका कारण उत्तर–पूर्वी भारतमा पनि वर्षा जारी रहने र तापक्रममा गिरावट आउने अनुमान गरिएको छ।
नेपालमा के असर ?
यस प्रणालीका कारण नेपालमा पनि तापक्रम केही घट्ने, चिसोपन बढ्ने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ।

