वैशाखयता ७ हजारभन्दा बढी विपद्, १३ हजार परिवार प्रभावित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १२ चैत — चालु वर्षको वैशाखदेखि हालसम्म देशभर ७ हजार २३१ वटा विपद्का घटना भएका छन्। ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ४७९ जनाको मृत्यु भएको छ भने १ हजार ८०० जना घाइते भएका छन्।

विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीका ३ हजार ४८० घटना भएका छन्। त्यसपछि पहिरो ६०४, सर्पदंश ६००, जनावर आक्रमण ५०४, हुरीबतास ४५१, भारी वर्षा ४४२ र चट्याङका ४०६ घटना रहेका छन्।

यसैगरी बाढीका ३२१, वन डढेलोका २७९, लेक लाग्नेका १२३ र हिउँपहिरोका ५ घटना भएका छन्। साथै भूकम्पका ७ तथा असिना, डुङ्गा पल्टिने, शीतलहरजस्ता अन्य साना घटनाहरू पनि भएका छन्।

प्राधिकरणका अनुसार पछिल्लो एक दिनमै पनि २६ वटा विपद्का घटना भएका छन्। चैत १० गते बिहानदेखि ११ गते बिहानसम्मको विवरणअनुसार ९ जिल्लाका १३ स्थानमा आगलागी हुँदा १० जना घाइते भएका छन्।

Leave a Comment