समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक, ६३ दलका ३ हजारभन्दा बढी प्रतिस्पर्धी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, माघ ४, २०८२ (आइतबार)
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगमा दर्ता भएका बन्दसूचीहरू आज आयोगको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक विवरणअनुसार ५७ वटा निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवार समानुपातिकतर्फ प्रतिस्पर्धामा छन्।

निर्वाचन आयोगका अनुसार बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धमा असन्तुष्टि वा आपत्ति जनाउन चाहने मतदाताले माघ ५ गतेदेखि १० गतेसम्म दाबी–विरोध गर्न सक्नेछन्। यसका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई आयोगले तोकेको ढाँचाअनुसार उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसादले दाबी–विरोध प्रक्रिया पारदर्शी र कानुनसम्मत रूपमा अघि बढाइने जानकारी दिँदै तोकिएको समयसीमाभित्र उजुरी दर्ता गराउन सरोकारवालालाई आग्रह गरेका छन्।

समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भएसँगै निर्वाचन प्रक्रिया थप औपचारिक चरणमा प्रवेश गरेको आयोगको भनाइ छ।

Leave a Comment