काठमाडौँ, १२ चैत — प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू अब बन्ने नयाँ सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने बताएकी छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वमा रहेको ६ महिने चुनावी सरकारले सबै माग पूरा गर्न नसके पनि त्यसका लागि आवश्यक आधार तयार गरेको स्पष्ट पारिन्।
उनले छोटो कार्यकालका बाबजुद सरकारको मुख्य ध्यान निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन केन्द्रित भएको उल्लेख गरिन्। जटिल परिस्थितिबाट देशलाई सामान्य अवस्थामा फर्काउँदै निर्वाचन सफल बनाउनु नै प्रमुख उपलब्धि रहेको उनको भनाइ छ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र कानुनी शासन सुदृढ गर्न सरकार सक्रिय रहेको पनि बताइन्। उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिइएको छ, जसका कारण लामो समयदेखि थाती रहेका मुद्दाहरू अघि बढ्न थालेका छन्।
उनले जेनजी आन्दोलनपछि सरकार र आन्दोलनकारीबीच भएको सम्झौताका केही काम अझै बाँकी रहेको उल्लेख गर्दै ती काम अब नयाँ सरकारले अगाडि बढाउने विश्वास व्यक्त गरिन्। साथै आन्दोलनका क्रममा भएका क्षति, तोडफोड र मानवीय हानिको स्मरण गर्दै उनले पीडित परिवारप्रति सहानुभूति व्यक्त गरिन्।
सम्बोधनमा उनले देशले कठिन अवस्थाबाट गुज्रिँदै पुनः स्थायित्वतर्फ अघि बढेको बताइन्। सुरक्षा निकाय, कर्मचारीतन्त्र, राजनीतिक दल तथा नागरिकको सहकार्यले निर्वाचन सफल भएको भन्दै सबै पक्षलाई धन्यवाद दिइन्।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाई दिँदै उनले नयाँ सरकारबाट सुशासन, रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायका क्षेत्रमा ठोस काम हुने अपेक्षा व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालको समीक्षा जनतामै छाड्दै इमानदारी र पारदर्शिताका साथ काम गर्ने प्रयास गरेको उल्लेख गरिन्। उनले अब नयाँ जनादेशअनुसार सरकार गठन हुने चरण सुरु भएको भन्दै देश उज्यालो भविष्यतर्फ अघि बढ्ने विश्वास व्यक्त गरिन्।






