काठमाडौँ, चैत १८ — शिक्षण संस्थामा हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय भएको भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक भएको पुष्टि भएको छ। उक्त सूचना बुधबार दिनभर व्यापक रूपमा भाइरल भएपछि शिक्षा मन्त्रालयले औपचारिक रूपमा स्पष्टिकरण दिन बाध्य भएको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शनिबार र आइतबार दुई दिन पूर्ण रूपमा शैक्षिक संस्था बन्द हुने भन्ने सूचना पूर्ण रूपमा गलत र आधारहीन रहेको जनाएको छ। केही व्यक्तिहरूले यसलाई ‘अप्रिल फुल’ भन्दै उल्लेख गरे पनि धेरैले वास्तविक जस्तो ठानेर सामाजिक सञ्जालमा शेयर गरेपछि भ्रम फैलिएको मन्त्रालयको भनाइ छ।
यस्ता भ्रामक सूचना फैलाउने कार्यप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित व्यक्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पहल भइसकेको जनाएको छ। साथै मन्त्रालयले आधिकारिक सूचना बाहेकका यस्ता सामग्रीमा विश्वास नगर्न आम नागरिकलाई अनुरोध गरेको छ।


