सरकारी कार्यालयबाट बिचौलिया खाली गराउने अभियानमा प्रहरी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

।काठमाडौं, १९ चैत २०८२ – काठमाडौं उपत्यकाका सरकारी कार्यालयमा बिचौलियाहरूको सक्रियता कम गर्ने उद्देश्यले प्रहरीले अभियान थालेको छ। भक्तपुर, काठमाडौं, ललितपुर र स्वयम्भुका यातायात कार्यालयबाट मात्रै दुई दिनमा ३२ बिचौलिया पक्राउ परेका छन्।

भक्तपुरको मध्यपुर थिमि यातायात कार्यालयबाट २९ वर्षीय यमकुमारी श्रेष्ठ (सिन्धुपाल्चोक) र ३० वर्षीय सुनिल थापा (चितवन) पक्राउ परेका थिए। उनीहरू सेवाग्राहीलाई अनावश्यक दु:ख दिनु र फास्ट ट्रयाकको बहानामा रकम लिने आरोपमा समातिएका हुन्।

काठमाडौंका विभिन्न यातायात कार्यालयबाट पनि १५ बिचौलिया पक्राउ परेका छन्। स्वयम्भु वृत्तले ७ र थानकोट वृत्तले ८ जना बिचौलियालाई नियन्त्रणमा लिएको छ। उनीहरूबाट ५३ थान बिलबुक र १ लाख २२ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए।

यो अभियान अन्तर्गत प्रहरीले सार्वजनिक सेवा प्रवाहमा बाधा पुर्याउने र सेवाग्राहीलाई हैरानी दिने सबै बिचौलियालाई कानुनी दायरामा ल्याउने बताएको छ। एआईजी ईश्वर कार्कीका अनुसार “कानुन विपरीतको गतिविधि गर्ने छुट कसैलाई छैन।”

यातायात कार्यालयसंगै वैदेशिक रोजगार विभाग, राहदानी विभाग जस्ता अन्य सरकारी कार्यालयमा पनि बिचौलियाहरू सक्रिय रहेको गुनासो आइरहेको छ। यसअघि पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राहदानी विभागबाट पटक-पटक बिचौलियाहरू पक्राउ गर्दै आएको थियो।

प्रहरीले अब सरकारी वकिल कार्यालयसँग समन्वय गर्दै बिचौलियाहरूको नियन्त्रण अभियानलाई थप तीव्र बनाउने तयारी गरिरहेको छ।

Leave a Comment