बारा, ४ जेठ — ब्लु डायमण्ड सोसाइटी बाराकी प्रमुख पूर्णिमा श्रेष्ठ ले जिल्ला प्रहरी कार्यालय बारामा सोमबार भएको उग्र प्रदर्शन र तोडफोड घटनामा तेस्रोलिङ्गी समुदायको गल्ती रहेको बताएकी छन्। उनका अनुसार प्रहरी उपरीक्षक नरेन्द्र कुवारले पक्राउ परेका व्यक्तिलाई भोलि बिहान कानुनी प्रक्रियाअनुसार छाड्ने जानकारी दिँदादिँदै केही व्यक्तिले उग्र प्रदर्शन गर्नु गलत भएको हो।
आइतबार कलैया उपमहानगरपालिका–बलिरामपुर टोलमा भएको विवादपछि कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना तेस्रोलिङ्गी व्यक्तिलाई पक्राउ गरेको थियो। पक्राउको विरोधमा सोमबार बिहानदेखि तेस्रोलिङ्गी समुदायका सदस्य तथा समर्थकहरू जिल्ला प्रहरी कार्यालय बाराअगाडि भेला भएर नाराबाजी गर्दै रिहाइको माग गरेका थिए।
प्रदर्शनका क्रममा केही प्रदर्शनकारीले अर्धनग्न रूपमा विरोध जनाएका थिए भने प्रहरी कार्यालयको मूल गेटमा तोडफोडसमेत भएको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो। घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।
पूर्णिमा श्रेष्ठले आफूले प्रदर्शनकारीहरूलाई सम्झाउने प्रयास गरे पनि नमानेपछि अवस्था तनावपूर्ण बनेको बताइन्। उनले कानुनी प्रक्रियामै विषय समाधान हुने अवस्थामा उग्र गतिविधि गर्नु उचित नभएको धारणा राखिन्।
प्रहरीले सार्वजनिक शान्ति तथा सुरक्षामा असर पुगेको भन्दै थप तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराले हाल अवस्था नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
पक्राउ परेकालाई भोलि बिहान छाड्ने सहमति हुँदा पनि उग्र प्रदर्शन गर्नु गल्ती : पूर्णिमा श्रेष्ठ
Leave a Comment
Leave a Comment






