ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही, लाइसेन्स खारेज गरिने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत १९ — काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीले ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूको लाइसेन्स खारेज गर्ने प्रक्रिया सुरु गरिएको बताएका छन्।

यातायात व्यवसायी र मजदुर संगठनसँगको अन्तरक्रियामा उनले पटक–पटक नियम मिच्ने र जरिवाना नतिर्ने चालकहरूलाई अब नछोडिने स्पष्ट पारे। उनका अनुसार ट्राफिक प्रहरीको मुख्य उद्देश्य सडक अनुशासन र व्यवहार सुधार गर्नु हो।

उनले प्रहरीमा पनि कमजोरी हुनसक्ने स्वीकार गर्दै अनुचित व्यवहार गर्ने प्रहरीमाथि समेत कारबाही हुने बताए। कुनै ट्राफिक प्रहरीले गलत व्यवहार गरे सिधै जानकारी दिन आग्रह गर्दै तत्काल कारबाही गरिने बताएका छन्।

सार्वजनिक यातायातमा केही खराब आचरण भएका मजदुरका कारण अधिकांश इमानदार मजदुर बदनाम हुने गरेको उनले बताए। चालक र सहचालकको पोशाक, व्यवहार र प्रस्तुति सुधार गर्नुपर्नेमा जोड दिँदै आवश्यक परे तालिम दिन तयार रहेको जानकारी दिए।

यातायात क्षेत्रमा रहेको ठेक्का प्रणालीका कारण चालकहरूले तीव्र गतिमा सवारी चलाउने र प्रतिस्पर्धा गर्ने प्रवृत्ति बढेको उनले बताए। यसको विकल्पका रूपमा ई–टिकटिङ र अनलाइन प्रणाली अपनाउन उनले आग्रह गरे।

बिहानको समयमा स्कुल बस तथा सार्वजनिक सवारीका चालकहरू मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारी चलाइरहेको भेटिएको भन्दै यसमा कडा निगरानी र कारबाही गरिने उनले चेतावनी दिए।

 

Leave a Comment